नेपाल निर्वाचन पोर्टल

संविधानसभामा दलहरु
समाचार:  प्रधानमन्त्रीद्वारा सम्बोधन- राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षालाई सर्वाधिक महत्व दिने       एमालेद्वारा शपथ बहिष्कार / सरकार अपूर्ण, मन्त्रिपरिषद्मा माओवादी र फोरम मात्र       मन्त्रिमण्डल गठन आज, शीर्ष नेताहरूद्वारा चारवटा दस्तावेजमा हस्ताक्षर       साझा कार्यक्रममा हस्ताक्षर भएन       प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण       सरकारको नीति तथा कार्यक्रम र आचारसंहिता तय, मन्त्रिमण्डल २४ सदस्यीय      








जनमत

हामी चाँडै आउँदैछौ ।

ईमेलमा सामाग्री पाउनुहोस्

तपाईको ईमेलमा नियमित जानकारी पाउनुहोस् ।

नियमित जानकारी प्राप्तगर्ने सूचीबाट आफुलाई हटाउनुस् ।

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
पर्यवेक्षण
निर्वाचन पर्यवेक्षण

निर्वाचनका राष्ट्रिय पर्यवेक्षक

निर्वाचनलाई गतिलो ढङ्गले सम्पन्न गर्ने कामलाई प्रोत्साहित गर्न चाहिने एउटा अत्यावश्यक साधन भनेको स्वतन्त्र रुपले काम गरिरहेका संगठित राष्ट्रिय समूहद्वारा गरिने निर्वाचन प्रक्रियाको पर्यवेक्षण हो । पर्यवेक्षकको समूहमा गैर सरकारी संस्था र नागरिक समाजका समूह लगायत राष्ट्रिय तथा स्थानीय नागरिक समूह, नागरिक सन्जाल, मानव अधिकारवादी समूह, विद्यार्थी संगठन, पेशागत समुदाय र धार्मिक समूहको फराकिलो क्षेत्र पर्दछ । (१)

पर्यवेक्षकहरुले आफ्ना अनुगमन टोलीबाट सूचना बटुल्छन्, निर्वाचन प्रक्रियामा लोकतान्त्रिक आचरणको विश्लेषण गर्छन्, निर्वाचनको गुणस्तरको निक्र्यौल गर्छन् र आफूले फेला पारेका तथ्य प्रकाशमा ल्याउँछन् । पर्येवेक्षकहरू निर्वाचनको मर्यादाका प्रभावकारी अभिभावक हुन सक्छन् । खास गरी संक्रमणकालीन समय व्यहोरिरहेका मुलुकमा तिनीहरूको भूमिका बढी प्रभावकारी हुन्छ । तिनका क्रियाकलापले निर्वाचनसम्वन्धी प्रशासनिक काममा पारदर्शिता र जवाफदेहिता प्रवाह गर्दछ । यसरी पर्यवेक्षकहरुले निर्वाचन प्रक्रियाले इमान्दारी पूर्वक अनुगनम गरेर जनविश्वास आर्जन गर्न सघाउ पुर्‍याउँछन् । निर्वाचन पर्यवेक्षणका लागि पर्यवेक्षकका निम्ति बनाइने आचारसंहिताले नैतिक तथा पेशागत मानकहरु निर्धारण गर्दछ ।

देशभित्रैका पर्यवेक्षकहरूबाट गरिने अनुगमनको एउटा उत्तम उदाहरण केन्यामा सन् १९९७ मा भएको निर्वाचनमा पाउन सकिन्छ । त्यहाँ पर्यवेक्षणका लागि नागरिक समाजका संगठनहरुले अठ्ठाइस हजारभन्दा बढी राष्ट्रिय अनुगमनकर्ताहरूलाई तालिम दिएका थिए । ती अनुगमनकर्ताहरू करीब १२ हजार ६ सय मतदान केन्द्र र प्रत्येक मतगणना स्थलमा तैनाथ गरिएका थिए । तिनीहरूको चौतर्फी उपस्थितिले मतदातालाई मतदानका निम्ति हौस्याएको थियो । (२)

इण्डोनेशियामा ६ लाखभन्दा बढी राष्ट्रिय अनुगमनकर्ताले सन् १९९९ को निर्वाचनलाई ढाकेका थिए र उनीहरूले नजिकबाट मतगणनाको अनुगमन गरेर निर्वाचन परिणामको स्वच्छता सुनिश्चित गर्न सघाएका थिए । तथापि सन् २००४ को राष्ट्रपतीय निर्वाचनमा इण्डोनेशियाको निर्वाचन आयोगले निर्वाचनको स्वतन्त्र पर्यवेक्षण समितिलाई त्यस रुपमा परिचय प्रमाणित गर्न अस्वीकार गरिदियो, किनभने त्यस समितिले विधायिकाको अघिल्लो निर्वाचनमा निर्वाचन अधिकारीको स्वीकृतिविना एउटा पर्यवेक्षण प्रतिवेदन प्रकाशित गरेको थियो । (३)

संगठित राष्ट्रिय पर्यवेक्षणलाई मान्यता दिनका निम्ति केही मुलुकले कडा बन्देज बनाउने गरेका छन् । सन् २००४ मा उक्रेनको राष्ट्रपति निर्वाचनमा त्यहाँको कानूनले उम्मेदवारका प्रतिनिधिलाई राष्ट्रिय अनुगमन गर्ने काममा सीमित पारिदिएको थियो । त्यति हुँदा हुँदै पनि उक्रेनका मतदाताको समितिले हजारौं अनुगमनकर्तालाई पत्रकारका रुपमा खटाएको थियो । त्यस रुपमा खटिएकाले ती अनुगमनकर्तासंग निर्वाचनसम्वन्धी कागजपत्र प्राप्त गर्ने वा ती कागजपत्र सार्वजनिक गर्न माग गर्ने हैसियत थिएन । (४)

इथियोपियामा सन् २००५ मा भएको संसदीय निर्वाचनमा त्यहाँको निर्वाचन व्यबस्थापन गर्ने निकायले राष्ट्रिय पर्यवेक्षकको पहुँचलाई सीमित तुल्याइदिएको थियो । यस किसिमको कदमविरुद्ध त्यहाँका पर्यवेक्षकले सर्वोच्च अदालत समक्ष मुद्दा हालेर चुनौती दिएका थिए । सर्वोच्च अदालतले निर्वाचन व्यबस्थापन निकायविरुद्ध फैसला सुनाएको थियो, तर त्यस फैसलालाई निर्वाचनको अघिल्लो दिनसम्म जनसमक्ष पुर्‍याइएन । त्यसको फलस्वरुप राष्ट्रिय पर्यवेक्षकका निम्ति व्यापक मात्रामा र प्रभावकारी ढङ्गले अनुगमनका क्रियाकलाप अघि बढाउन निकै ढिलो हुन गएको थियो ।(५)

राष्ट्रिय पर्यवेक्षणका लाभ

थोरै अबस्थामा अन्तराष्ट्रिय पर्यवेक्षकको उपस्थिति अपरिहार्य हुन्छ । उदाहरणका लागि, शान्ति कायम गर्ने बल (Peace Keeping Force) आवश्यक पर्ने मुलुक, जटिल संक्रमणको अवस्थाबाट गुज्रिरहेका मुलुक वा पक्षधरता रहित नागरिक समाजका समूह यथार्थतः नरहेका वा निकम्मा रहेका मुलुकमा हुने निर्वाचनमा अन्तराष्ट्रिय पर्यवेक्षकहरू अपरिहार्य हुन्छन् । दीर्घकालका निम्ति आफ्नो देशमा हुने निर्वाचनलाई अनुगमन गर्न वाहिरी सहयोगविना सक्षम राष्ट्रिय पर्यवेक्षण समूहहरू तयार गर्नु लोकतान्त्रिक विकासका निम्ति अत्यावश्यक छ ।

निर्वाचनका अन्तराष्ट्रिय पर्यवेक्षकसंग भन्दा राष्ट्रिय पर्यवेक्षकसंग बढी महत्वपूर्ण सुविधा र अनुकूलताहरू हुन्छन् । उनीहरू बढी सजिलो गरी हज्जारौंको संख्यामा भेला हुन सक्छन् । उनीहरूलाई आफ्नो देशको राजनीतिक संस्कृति, भाषा र क्षेत्रका सम्वन्धमा जानकारी हुन्छ । फलस्वरुप उनीहरू थुप्रै कुरा अवलोकन गर्न सक्षम हुन्छन्, जुन कुरा विदेशबाट आएका अन्तराष्ट्रिय पर्यवेक्षकका आँखामा आझेलमा पर्न पनि सक्छन् । (६)

खास किसिमको विशिष्ट अनुगमन दक्षतापूर्वक सम्पन्न गर्न पनि अन्तराष्ट्रिय पर्यवेक्षकभन्दा राष्ट्रिय पर्यवेक्षकहरु बढी सजिलो स्थितिमा हुन्छन् । मतदाताको नाम जाँचबुझ गर्ने, उजुरीको प्रक्रिया ठीक छ कि छैन भनी अनुगमन गर्ने, त्रासपूर्ण वातावरण र मानव अधिकार उल्लंघनका उदाहरणको अभिलेख राख्ने र संचार माध्यममा सूचना प्रवाह गर्नेजस्ता काम राष्ट्रिय पर्यवेक्षकले बढी सहजतापूर्वक गर्न सक्ने कामका केही उदाहरणहरू हुन् । यसका साथै देशभित्रैका नागरिक संगठनसंग नागरिक शिक्षा कार्यक्रमलाई लागू गर्ने र निर्वाचनसम्वन्धी कानूनी सुधारलाई प्रोत्साहित गर्ने एउटा महत्वपूर्ण भूमिका पनि अन्तराष्ट्रिय पर्यवेक्षकको भन्दा भिन्न रहन्छ । (७)

पर्यवेक्षकलाई सम्वद्धन (परिचय पत्र सहित) दिनु

निर्वाचनसम्वन्धी व्यबस्थापन वा नीति निर्माण गर्ने निकायद्वारा यदि आधिकारिक रुपमै परिचयपत्र दिएर पर्यवेक्षक वा अनुगमनकर्ता प्रमाणित गरिएमा पर्यवेक्षक र अनुगमनकर्ताले बढी प्रभावकारी रुपमा काम गर्न सक्छन् । त्यस्तो परिचय पत्रले उनीहरूलाई निर्वाचन भइरहेका ठाउमा सजिलोसंग पुग्न सघाउँछ । यदि सम्वद्धनको विधि वा त्यसका निम्ति अन्य आवश्यकतालाई पर्यवेक्षकको संख्या सीमित पार्नका निम्ति प्रयोग गरियो अथवा पर्यवेक्षक वा अनुगमनकर्ताको निश्चित समूहलाई पहुँचको निम्ति अस्वीकार गरियो भने निर्वाचनको स्वच्छतामा समस्या उठ्न सक्छ । यदि सम्वद्धनको विधि लामो समय लाग्ने र निर्वाचनको दिनभन्दा अगाडि नै पूरा हुन नसक्ने छ वा त्यस्तो सम्वद्धन छनौटपूर्ण भयो भने निर्वाचन प्रक्रियाले विश्वसनीयता गुमाउनेछ र निर्वाचन व्यबस्थापन निकायमाथि केही कुरा लुकाउन खोजेको आरोप लाग्नेछ ।

धेरैजसो निर्वाचन निकायले पर्यवेक्षक तथा अनुगमनकर्ता छानिनका लागि निर्वाचनसम्वन्धी कानून वा विधिमा आवश्यक योग्यता निर्धारित गरेका छन् । प्रष्ट र वस्तुगत योग्यताको आवश्यकता निर्धारित गर्नाले विभेद वा पक्षपातजस्ता समस्यालाई न्यूनीकरण गर्न सघाउँछ । मनोमानी रुपले गरिने सम्वद्धनले अनजानमै त्यस्ता समस्याहरु निकाल्न सक्छन् । निर्वाचन व्यबस्थापन गर्ने केही निकायले पर्यवेक्षक वा अनुगमनकर्ता हुनका लागि आवश्यक योग्यतामा सम्वन्धित व्यक्तिको आनीवानीको अवस्था पनि थपेका छन् । सामान्यतः यी कुरा अलोकतान्त्रिक ठानिएका व्यक्तिलाई हटाउन प्रयोग गरिन्छन् । उदाहरणको लागि दक्षिण अफ्रिकामा त्यस्ता पर्यवेक्षकलाई मात्रै परिचय पत्र उपलब्ध गराइयो, जसले स्वतन्त्र र स्वच्छ निर्वाचनका निम्ति तोकिएका शर्तलाई समर्थन गरेका थिए । त्यसमा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका कुनै पनि राजनीतिक दल वा उम्मेदवारप्रति निष्पक्षता र स्वाधीनता, सक्षम र व्याबसायिक पर्यवेक्षण तथा पर्यवेक्षकका लागि बनाइएको आचारसंहिताप्रति प्रतिवद्धताजस्ता शर्तहरू थिए ।

सुरक्षाका समस्या र राष्ट्रिय पर्यवेक्षण

जटिल संक्रमणतिर गइरहेका मुलुक वा द्वन्दपछिका समाजमा राष्ट्रिय पर्यवेक्षकहरू त्रास र धम्कीका निशाना बन्न पनि सक्छन् । यस्तो स्थिति भएमा घुम्ने, स्वतन्त्र रुपले निरीक्षण गर्ने, आत्मनियन्त्रण (Self Censorship) वा प्रतिकारको त्रासविना आफूले पाएका सूचनालाई निर्धक्क भएर सम्प्रेषण गर्ने पर्यवेक्षकको क्षमतामा नकारात्मक असर पर्न सक्छ । उदाहरणका लागि कम्वोडियामा सन् १९९८ मा भएको राष्ट्रिय निर्वाचनको एउटा प्रतिवेदनले यस्तो उल्लेख भएको छ :

"यस बर्षो निर्वाचन प्रक्रियाको अवधिमा धम्की, त्रास र हिंसा कम्वोडियाली पर्यवेक्षकका निम्ति भयंकर चुनौती थिए । सार्वजनिक विज्ञप्ती जारी गर्ने आफ्नो क्षमतालाई खराब राजनीतिक वातावरणको कारणले खुम्च्याउनु पर्‍यो भनेर पर्यवेक्षणमा खटिएका कुनै पनि समूहले भनेनन् । तथापि, त्रासपूर्ण वातावरणले गर्दा निर्वाचन प्रक्रियामा सूचना बटुल्न कठिनाइ परेको कुरा तिनीहरूले उल्लेख गरे । साथै, अनुगमनकर्ताहरूबाट प्राप्त प्रतिवेदनलाई धम्कीले असर पारेको कुरा पनि तिनीहरूले उल्लेख गरे ।" (८)

« विषय सूचीमा फर्कनुहोस् ।


फुट नोटहरू

(१) बिजर्नलण्ड, एरिक, सी., वियोण्ड फ्रि एण्ड फेयर : मनिटरिङ्ग इलेक्सन्स् एण्ड ब्युल्डिङ डेमोक्रेसी, वाशिङ्गटन डिसी : उडरो विल्सन सेन्टर प्रेस, २००४ ।

(२) बर्कन, जोएल र नेथ न्जुगुमा, 'केन्या ट्राइज एगेन', जर्नल अफ डेमोक्रेसी, ९(२) सन् १९९८ ।

(३) कार्टर सेन्टर, दि कार्टर सेन्टरको सन् २००४को इण्डोनेशियाको निर्वाचन प्रतिवेदन, जुन २००५ ।

(४) युरोपमा सुरक्षा र सहयोगको निम्ति संगठन, अफिस फर डेमोक्रेटिक इन्स्टिच्युसन्स् एण्ड हुमन राइट्स, उक्रेन, राष्ट्रपतिको निर्वाचन ः ३१ अक्टोबर, २१ नोभेम्वर र २६ डिसेम्वर २००४ । OSCE/ODIHR निर्वाचन पर्यवेक्षण नियोगको अन्तिम प्रतिवेदन, वार्शा, मे २००५ ।

(५) कार्टर सेन्टर, इथियोपियामा सन् २००५ मा भएको राष्ट्रिय निर्वाचन सम्वन्धमा कार्टर सेन्टरको पर्यवेक्षणको अन्तिम विज्ञप्ती, सेप्टेम्वर २००५ ।

(६) क्यारोथर्स, थमस, ' दि अब्जर्रभर्स अब्जर्भ्ड', जर्नल अफ डेमेक्रेसी, ८(३), सन् १९९७, पृ.२५ ।

(७) इन्टरन्यासनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिसट्यान्स, द फ्युचर अफ इन्टरन्यासनल इलेक्टोरल अब्जरभेसन : लेसन्स् लर्न्ड एण्ड रिकोमेण्डेसन्स्, सन् १९९९

(८) नेशनल डेमोक्रेटिक इन्स्टिच्युट फर इन्टरन्यासनल अफर्ेयर्स, एसियाली अनुगमन सन्जाल सम्मेलन, अक्टोबर १९९८ ।

(स्रोत : ACE परियोजनाको वेबसाइट )



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल निर्वाचन पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Developed by Yomari